Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

केन्द्रीय सूचना एवं प्रसारण मन्त्रीलाई पत्राचार गरे खरसाङका विधायक बी.पी. बजगाईंले

खरसाङ,०७ जुलाई: आकाशवाणी दिल्लीले नेपाली समचार प्रसारण बन्द गरेको खबर प्रकाशमा आएपछि खरसाङ विधानसभा क्षेत्रका विधायक विष्णु प्रसाद शर्माले बुधबार केन्द्रीय सूचना एवं प्रसारण मन्त्री प्रकाश जावड़ेकरलाई पत्राचार गरेका छन्। अल इण्डिया रेडियो आकाशवाणी दिल्लीमा नेपाली विभागका केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि ३ मई २०२१ देखि नेपाली विभाग बन्द गरिएको र अनि साँझ ७.२५ बजे राष्ट्रिय समचारको रूपमा नेपाली भाषामा प्रसारण गरिने समचार पनि स्थगित गरिएको खबर प्रकाशमा आएपछि त्यस माथिको जनचासोलाई मध्य नजर राख्दै विधायक बजगाईंले केन्द्रीय सूचना एवं प्रसारणलाई पत्राचार गरेको बताए।

विधायक बजगाईंले भने- "हाम्रो क्षेत्रको कठिन भूगोललाई ध्यानमा राख्दै नेपाली समाचार सम्प्रेषणद्वारा अल इण्डिया रेडियो सेवाले हाम्रो जातिलाई राष्ट्रिय मूलधारमा जोड्ने अनि क्षेत्रको भावनात्मक र सांस्कृतिक एकीकरणमा महत्वपूर्ण भूमिका निभाउने कार्य गरेको थियो। अहिलेको मोबाइल युगमा पनि ग्रामिण क्षेत्रका मानिसहरू रेडियो समाचारमा निर्भर छन्। अझसम्म यस्ता स्थानहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू र घटनाहरूको बारेमा जान्ने एक मात्र साधन रेडियो नै हो। झन् स्थानीय रेडियो सेवाले त हाम्रा क्षेत्रका मानिसहरूलाई गीत, सङ्गीत, साहित्य अनि संस्कृतिमा धेरै ठुलो टेवा दिँदै आएको छ।"

"आकाशवाणी दिल्लीले नेपाली समचार प्रसारणलाई बन्द गर्नाले हाम्रो क्षेत्रका मानिसहरूमा राष्ट्रिय मुलधारबाट अलगिएको अनि मान्यता गुमेको अनुभूति हुनेछ, जहाँ पहिल्यैबाट पहिचानको संकटले क्षेत्रवासीलाई लामो समयदेखि पिरोलिरहेको छ"-उनले भने।

उल्लेख्य छ, सन् १९५९ देखि शुरू भएको यो नेपाली समचार साँझको ७:२५ बजे बुलेटिनको रूपमा प्रसारित भइरहेको थियो।

Post a Comment

Previous Post Next Post