Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

असम आन्दोलनकी प्रथम महिला शहीद बैजयन्ती देवी अनि उनको बारेमा नजानेका केही कुरा

जब देशमा संकट छाउँछ तब देश रक्षाको निम्ति सधैं बहादुरीका साथ पहिलो पङ्तिमा गोर्खाहरु खडा हुने गर्छन्। साँचो मनले मातृभूमिलाई माया गर्ने जाति समूह केलाउने हो भने गोर्खा जाति पहिलो पङ्तिमा पर्छन् भन्दा सायदै बढाएर भनेको हुदैन होला। मातृभूमि भारतको रक्षा र उत्थानको उद्देश्यले चलेको त्यस्ता कुनै एउटा आन्दोलन नहोला, जहाँ गोर्खाको सहभागिता अथवा बलिदान छैन।

देश र जातिको उन्मुक्तिको लागि भारत तथा असममा विभिन्न समयमा धेरै आन्दोलनहरू भए। जसमध्ये असमको इतिहासमा 'असम आन्दोलन' लाई सबैभन्दा ठूलो आन्दोलन मानिन्छ। सन् १९७९ देखि १९८५ सम्म चलेको थियो ऐतिहासिक असम आन्दोलन। असमका अवैध विदेशीलाई वहिष्कार गरेर अस्तित्व सङ्कटमा परेका रैथानेहरुलाई बचाउने उद्देश्यले अविराम ६ वर्ष चलेको ऐतिहासिक असम आन्दोलनमा कूल ८५५ जना व्यक्तिले जातिको लागि प्राण बलिदान चढाएका थिए। ती ८५५ जना महान शहीद मध्ये ६ जना गोर्खा पनि शहीद भएका थिए। ती ६ जना गोर्खे मध्ये एक थिइन् विरङ्गना शहीद वैजयन्ती देवी। उनीलाई ऐतिहासिक असम आन्दोलनको प्रथम महिला शहीद पनि भनिन्छ।

शहीद वैजयन्ती देवीको जन्म सन् १९५९ को जुलाई १९ तारिखको दिन शोणितपुर जिल्लाको महाभैरव मौजा अन्तर्गत बुडाछापरी गाँउमा भएको थियो। उनको बुबाको नाम अमर नाथ उपाध्याय र आमाको नाम शान्ती देवी हो।

वैजयन्ती देवीले प्राथमिक शिक्षा आफ्नै गाँउकै स्कूलबाट ग्रहण गरेकी थिइन् भने त्यसपछि उनले जेईल रोड हाईस्कूल, सिलङ्गमा अध्ययन गरिन्। त्यसपश्चात् उनी उषानगरी तेजपुर फर्किएर बहु उद्देशीय कन्या स्कूलमा नाम भर्ती गर्छिन्। तर शारीरिक अस्वस्थको कारण उनी प्रवेशिका परीक्षामा बस्न असमर्थ बन्छिन्।

उनको सानैदेखि क्रान्तिकारी स्वभाव थियो। उनी बहुमुखी प्रतिभाकी ध्वनी पनि थिइन्। उनलाई कला (चित्राङ्कण) तथा नृत्यमा धेरै रुचि थियो भने खेलमा पनि उनी उत्तिकै रुची राख्ने गर्थिन्। उनले असम मात्रै नभएर देशको विभिन्न स्थानमा सम्पन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागी बनेर आफ्नो नृत्य प्रदर्शन गर्नुको साथै राज्यको नाम अनि मान र सम्मान बडाएकी थिइन्। उनले तेजपुर बिहु सम्मेलन, मध्य तेजपुर बिहु सम्मेलन, दक्षिणी-पश्चिम बिहु सम्मेलनको साथै धेरै सांस्कृतिक कार्यक्रमहरुमा हिस्सा लिएकी थिइन्। मणिपुर अनि दार्जिलिङ्गमा पनि उनले नृत्य प्रदर्शन गरेकी थिइन्। सन् १९७५ मा उनले अरुणाचल प्रदेशमा एक अन्तर राज्य सांस्कृतिक आदान प्रदान कार्यक्रममा असमलाई प्रतिनिधित्व गर्ने मौका पाएकी थिइन् भने वहाँ धेरै बधाई र प्रशंसा बटुल्न सफल भएकी थिइन्। उनले सन् १९७६ मा असम गोर्खा सम्मेलनको गुवाहाटीमा सम्पन्न अधिवेशनको मञ्चमा तत्कालीन असमका मुख्यमन्त्रीको उपस्थितिमा बिहु लगायतका विभिन्न नृत्यहरु प्रदर्शन गरी मुख्यमन्त्रीको साथै उपस्थित दर्शकको पनि प्रशंसा बटुलेकी थिइन्। अधिवेशनमा आफ्नो भाषण क्रममा मुख्यमन्त्रीले बैजयन्ती देवीको नृत्यले प्रभावित भएर भनेका थिए- "वैजयन्ती देवी जसरी असामे संस्कृति सम्बर्धन र संरक्षणमा मन मुटुले लागि परेकी छिन् त्यसलाई असमका अन्य जनगोष्टीले अनुकरण गर्नु हो भने असमको कला संस्कृति मौलाउने थियो।"

वैजयन्ती देवी अखिल असम छात्र संघ, तेजपुर आञ्चलिक छात्र संको अन्तर्गत चाँन्दमारी स्वयंसेवक दस्ताकी सक्रिय सदस्य पनि थिइन्। ऐतिहासिक असम आन्दोलनको शुरूदेखि नै सक्रिय रूपले सहभागी बनेकी बैजयन्ती देविले आन्दोलनमा पहिलो पङ्तिमा रहेर नारा लगाउने गर्दथिन्। उनको नारा थियो- "जदी हुवा अखमीया आमार लगत लग दिया" अर्थात् "यदि आसामे हौ भने हामीलाई साथ देउ"।

वैजयन्ती देवी शङख बजाउन पनि साह्रै सिपालु थिइन्। प्रतिवादी कार्यक्रमहरुमा शङख बजाउदै, नारा लगाउदै हिडने गर्थिन्। आन्दोलनको क्रममा 'राङसिना दिवस' नामले आयोजित प्रतिवादी समदलमा तेजपुर जज् फिल्डबाट उनी पनि सामेल हुन्छिन्। उनले अघिबाटै लुकाएर बोकेको शंख निकालेर नारा लगाउदै सँग सगै शङख फुक्दै हिड्ने क्रममा उनको मस्तिष्कको नसो फुट्छ र रक्त प्रवाहित हुन्छ अनि उनी जमिनमा ढलछिन्। उनलाई तत्काल तेजपुर सैनिक अस्पतालमा पुराएका थिए तर मस्तिष्कमा रगत बगेको कारण सन् १९८० को अगस्त १६ तारिखको दिन साँझ ८:१५ बजे उनको निधन हुन्छ र उनी असम आन्दोलनकी प्रथम महिला शहीद बन्न पुग्दछिन्।

असम मातृको रक्षाको निम्ति यौवन अवस्थामै प्राण बलिदान चढाउने ऐतिहासिक असम आन्दोलनकी प्रथम महिला शहीद बैजयन्ती देवीलाई वर्तमान असम सरकारले नसम्झिनु अथवा उनको स्मृति संरक्षणको लागि कुनै पहल नचालेको दुर्भाग्य होईन र?

महान शहीद बैजयन्ती देवीको ६३ औं जन्म जयन्तीमा कोटी कोटी नमन।

तथ्य: सामाजिक सञ्जाल।

Post a Comment

Previous Post Next Post