""अलबिदा चन्दन भाइ""
---- निलीमा आचार्य
"एउटा निभ्न लागेको कुपी हुँ म, बस् हुरी एउटाको प्रतीक्षामा छु।"_ चन्दन छेत्री
मृत्यु समागत रहेछ। चन्दन भाइले मलाई एउटा मेसेज पठाए - "दिदी तपाईँले कविता हेरिदिनुपर्छ। म एउटा कविता सङ्ग्रह निकाल्छु।"
"अवश्य भाइ।"
त्यसपछि उनले मलाई कविता पठाउन थाले। मोठ ३३ वटा भएछन् । १५ वटा जति मैले हेरिसकेकी थिएँ। कुनै कविताको शीर्षक "अन्तिम यात्रा" कुनै "यमराजको सभामा" कुनै "अदृश्य कारागार" र कुनै समाजमा देखेका भोगेका कुरामाथि शीर्षक राखेका थिए। एकदिन उनले "फाइनल कविता" नाउँ दिएर एउटा ग्रुप खोले। ग्रुपमा हेर्छु दुईजना मात्रै सदस्य, एक उनी अर्को सदस्य म। सोद्धा भन्छन् - "हेरेका कविता यसरी राखेको दिदी।"
उनको तीव्र चाहाना थियो पुस्तक निकाल्ने।
२ जनवरी२०२५ अर्थात दुर्घटना हुने दिन बेलुकी 3-30 बजे फोनमार्फत हाम्रो कुराकानी भएको थियो। अनि उनी बढो उत्साहित भएर आफ्नो कविता पुस्तकको कोभर पेजको फोटो पठाए मलाई। म हेरेर भन्छु "शीर्षक अर्कै दिँदा हुँदैन भाइ?" उनले भने_ " त्यत्तिकै बनाएको दिदी, मिलाउनुपर्छ।"
कहिलेकाहीँ उनी कविता पठाउने गर्थे, म सकेको हेर्थेँ।
एकदिन उनले लेखेका थिए- "एउटा निभ्न लागेको कुपी म, बस् एउटा हुरीको प्रतीक्षामा छु।"
पढेर फोन गरेँ , गाली गरेँ। तर हाँसी हाँसी भन्छन् उनी- "दिदी त्यत्तिकै लेखेको , आखिर सबैले त मर्नै पर्छ।"
हो मृत्युु चिरसत्य हो! तर यस्तो मृत्यु कसले चाहेको हुन्छ!!!
चन्दन भाइले फेसबुकमा भएको मेरो "झ्याल" शीर्षक कविता वाचन गरेका थिए। त्यसपछि उनी मेरा मित्र बनेका थिए। त्यसपछि उनले "रजत"उपन्यास पढ्ने इच्छा प्रकट गरे। मैले दिएँ। केही दिनभित्रमै उनले सम्पूर्ण उपन्यासको "अडिओ बुक" बनाए र Rj chandan भन्ने YouTube च्यानेलबाट सम्पूर्ण उपन्यास YouTube मा छोडे। त्यसैगरी उनले मेरा अरू पनि धेरै कविता वाचन गरे। मैले गरेको वाचनमा धुन र मिल्दोजुल्दो तस्बिर लगाएर मिलाउने गर्थे। गतवर्ष उनी हाम्रो घर आएका थिए पिताको बिरामीको खबर लिन भनेर।
अति मिलनसार व्यक्तित्वका धनी थिए चन्दन । भन्छन् नि, "राम्रा मान्छे धेरै दिनका अतिथि हुँदैनन्।" हो रहेछ! मृत्यु सबैको हुन्छ तर यस्तो अकस्मात ! यस्तो असहनीय मृत्यु कसैले चाहेको हुँदैन। उनलाई राम्रोसँग ड्राइभ गर्न आउँछ। गतवर्षको अप्रिल महिनामा उनले हामीलाई सासूआमा, म अनि छोरीलाई गुवाहाटीसम्म लगेका थिए। असमिया कवितामा मैले प्रथम पुरस्कार पाएको हुँदा सोही पुरस्कार थाप्न गुवाहाटी प्रेस क्लबमा जानुपर्ने भएको थियो र सम्पूर्ण परिवार गएका थियौँ। त्यतिबेला मलाई थाहा भएको कि उनी कुशल चालक हुन् । त्यस्तो राम्रो ड्राइभ गर्न जान्ने मान्छेको कसरी पुलमा गाडी ठक्कर लाग्यो ? त्यो विश्वास गर्न गाह्रो पर्यो।
चन्दनभाइलाई केही दिन सकिएन। 'इन्द्रेनी प्रकाशन, असम'को मञ्चमा उनी एक अपरिहार्य कवि थिए। उनको साहित्यप्रतिको आग्रहले वास्तवमा यसै संस्थाको प्लेटफर्ममा मौलाउने मौका पाए। हामीले पनि उनलाई 'इन्द्रेनी' को सम्पादनमण्डलमा राखेर उनको प्रतिभाको विकास गर्ने मौका दिएका थियौँ तर उनले चाँडै हामीलाई छोडेर अन्तिम यात्राको यात्रु बने। उनको आत्माले वैकुण्ठम बास गरोस्। "चन्दु की चाय" "चन्दन की कविताएँ" रहनेछन् सबैको मनमुटुमा। हामी इन्द्रेनी परिवार र Ne Live24 मिलेर आगामी १३ जानुअरीका दिन तिम्रो कविता किताब विमोचन गरेर तिम्रा परिवार र असमका जनताका हातमा अर्पण गर्ने छौँ। तिम्रो याद सदा रहने छ। तिमीले गरेको सहाय हामी कहिल्यै बिर्सने छैन। अलबिदा भाइ।
Post a Comment