Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्ने

( चन्द्रयान–३ ले चन्द्रमाको सतहमा पुग्दाको प्रतिकात्मक स्केच | फोटो: इसरो )

नयाँ दिल्ली, २३ अगस्त: भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा अवतरण गर्ने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ।

भारतले चन्द्रमाको कक्षसम्म पुग्ने लक्ष्य लिएर गत् १४ जुलाईमा अन्तरिक्ष यान पठाएको हो। 

भारतले चन्द्रयान–३ पठाएको करिब एक महिनापछि रुसले ११ अगस्तका दिन लुना–२५ अन्तरिक्ष यानलाई चन्द्रमातर्फ पठाएको थियो। भारतभन्दा तीव्र रफ्तारका साथ छिटो अवतरण गर्ने लक्ष्य रुसी यानको थियो। भारत र रुसको चन्द्रमा मिसन एकैसाथ अन्तरिक्षमा सुरु भएपछि एक प्रकारले प्रतिस्पर्धा नै मानिएको थियो। तर लुना–२५ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित यान अवतरण गराउन रुसको सपना यस पटक रोकिन पुगेको छ। रुसले ४७ वर्षपछि चन्द्रका लागि मिसन गरेको थियो। दुई–चार दिनको फरकमा चन्द्रमाको दक्षिणी ध्रुवमै रुस र भारतको अन्तरिक्ष यान अवतरणको लक्ष्य थियो। रुसको मिसन असफल भएपछि दुनियाँभरका अन्तरिक्ष वैज्ञानिक र मिडियाको नजर भारतीय मिसनतिर सोझिएको हो।

हालसम्म चन्द्रमाको उत्तरी या मध्य क्षेत्रमा अवतरणका लागि अन्तरिक्ष यानहरू पठाइएका छन्। तर दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्न लागिएको हो। भारतको चन्द्रयान–३ ले सुरक्षित अवतरण गरेको खण्डमा चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्ड गर्ने पहिलो देश भारत बन्नेछ। त्यस्तै चन्द्रमाको सतहमा पुग्ने चौथो देशमा दर्ज हुनेछ। यसअघि अमेरिका, रुस र चीनले उक्त सफलता पाइसकेका छन्।

इसरोका अनुसार विभिन्न इलेक्ट्रिक र मेकानिकल सबसिस्टम जोडिएको यो यानको उद्देश्य सुरक्षित ‘सफ्ट ल्यान्डिङ’ हो। यानसँग पठाइएको रोबरलाई चन्द्रमाको सतहमा छोड्ने र दुईतर्फी सञ्चार गर्ने लगायतका क्षमता चन्द्रयान–३ को रहेको इसरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इसरोले चन्द्रयान–३ अवतरणको अन्तिम तयारीमा रहेको बताएको भारतका मूलधारका सञ्चारमाध्यमले जनाएका छन्।

उल्लेख छ, विगत ४ वर्ष पूर्व भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ अवतरण गर्ने लक्ष्य पूरा हुन सकेको थिएन। अवतरण गर्ने क्रममा सन् २०१९ सेप्टेम्बर ७ का दिन अन्तिम समयमा चन्द्रयान–२ सँग भारतीय वैज्ञानिकहरूको सम्पर्क टुट्न पुगेको थियो। त्यतिबेला चन्द्रयान–२ विक्रम ल्यान्डर चन्द्रमाभन्दा २.१ किलोमिटर दूरीमा मात्रै थियो। त्यो असफलतापछि यसपटक भारतले थप तयारी अनि त्यसलाई थप परिष्कृत गर्दै पुनः प्रयास गरेको हो।

यसपटक भारतको चन्द्रयान–३ मिसन सफल होस् भारतेली जनताको त्यही कामना छ।

Post a Comment

Previous Post Next Post