दार्जिलिङ, २१ सेप्टेम्बर: जीटीए सभाको पहिलो बैठकले गोर्खाल्याण्ड मागको प्रस्तावना पारित गरेको छ। जानकारी अनुसार, गत् सोमबार गोर्खा रंगमञ्च भवनको जीटीए सभा हलमा सम्पन्न भएको जीटीए सभाको पहिलो बैठकमा गोर्खाल्याण्ड मागको प्रस्ताव ध्वनि मतले पारित भएको छ। जीटीए सभाको पहिलो बैठकमा जीटीए प्रमुख अनित थापाले गोर्खाल्याण्डको प्रस्तावना प्रस्तुत गर्दै ११ पल्ट गोर्खाल्याण्डमाथि वार्ताहरु भएपछि बन्द भएको हो अनि अब गोर्खाल्याण्डको वार्ता पुन: शुरू गरिनु पर्ने बताए। गोर्खाल्याण्ड जातिको दिर्घकालिन माग हो। गोर्खाल्याण्ड गठनको माग लिएर पहाडमा पटक पटक हिंसात्मक आन्दोलनहरु भइरहेको छ अनि आन्दोलनमा धेरै शहीद पनि भइसकेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावको अवधि जीटीए सभा गठन गरेको खण्डमा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने घोषणा गरेका थिए अनि जीटीए सभाको पहिलो बैठकमा गोर्खाल्याण्डको प्रस्तावना पेश गरेका हौं– अनित थापाले भने अनि जीटीए सभाको पहिलो बैठकमा गोर्खाल्याण्डको प्रस्ताव ध्वनि मतले पारित भएको छ।
सोमबार सम्पन्न जीटीए सभाको पहिलो बैठकले लिएका प्रस्तावहरू यस प्रकार छन्–
१. केन्द्र र राज्य सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति डायलग ओपन गर्नु पर्छ।
२. गोर्खे जातिका छोडिएका ११ जात गोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनु पर्छ।
३. उत्तर बंगाल मेडिकल कलेजनजिक श्रमिक भवन निर्माण गरिने (कोविडको समयको संग्रहित राशिबाट)।
४. जीटीए क्षेत्रका विभिन्न स्कुलहरूमा कार्यरत स्वयंसेवी शिक्षक शिक्षिकाहरूको समस्या समाधान गरेर SSC लागू गरिने।
५. कालेबुङ ब्लकलाई दुईवटा बनाइने। एउटा कालेबुङ अर्को चारखोल।
६. गोरूबथानलाई सवडिभिजन बनाइने। गोरूबथान ब्लकलाई दुईवटा बनाइने। एउटा गोरूबथान, अर्को जलढाका।
७. जोरबङ्गलो सुखेपोखरी ब्लकमा थप अर्को रङबुल सुनादह ब्लक बनाइने।
८. पुलबजार बिजनबारीलाई छुट्टै सवडिभिजन बनाइने। पुलबजार बिजनबारीलाई तीनवटा ब्लक दार्जिलिङ सदर, रिम्बिक लोदोमा, पुल बिजनबारी बनाइने।
९. मिरिक सवडिभिजनलाई दुईवटा ब्लक बनाइने।
१०. जीटीएका पेब्याण्ड कर्मचारीको स्थायीकरणको पहल गरिने।
११. सेवाकालमा मृत्यु भएका पेब्याण्ड कर्मचारीहरूको उत्तराधिकारीको नियुक्तिको पहल शुरु गरिने।
१२. चियाबारी र सिनमकोनाको पर्जापट्टाको पहल शुरु गरिने।
१३. जीटीएको सल्लाहकार समिति बनाइने।
१४. सिन्कोना प्लान्टेशनमा नियुक्ति प्रक्रिया सुरु गरिने।
१५. सन् २०११ को जीटीए एक्टअनुसार ग्रुप बी, सी, डी पदमा नियुक्तिको निम्ति सव कोअर्डिनेशन सर्विस सेलेक्सन बोर्ड गठन गरिने।
१६. बोर्ड अफ प्राइमेरी एडुकेसन गठन हुनु पर्छ।
१७. भेल्लोरमा गोर्खा वेलफेयर सेन्टर निर्माण गरिने।
१८. छोडिएका पाँचवटा मौजा क्रमैले गुल्माखारी, पूर्व केराबारी, एमएम तराई, चिलाउने, सामसिङलाई जीटीएमा अन्तर्भुक्त गरिन पहल गरिने।
१९. सम्झौताअनुसार जीटीएमा भएको सबै विभाग जीटीएलाई हस्तान्तरणको निम्ति राज्य सरकारसमक्ष पहल गरिने।
२०. आन्दोलन कालको बिजुली बिल माफीको निम्ति राज्य सरकारसमक्ष अनुरोध गरिने।
२१. आगामी जीटीए चुनावमा एसटी, एससी अनि महिलाको निम्ति सिट आरक्षणको पहल गरिने।
२२. तीन महिनामा जीटीएको सभा बसिने।
Post a Comment