गुवाहाटी ,२४ सितम्बर: गोर्खा स्वायत्त शासन माग समिति अर्थात् GACDC विगत २० वर्षदेखि असमका गोर्खाहरुको हक, हित र चिन्हारीको लागि संग्राम गरिआएको दावी या माग गर्ने संस्था हो। विगत एक दुई वर्षदेखि अखिल असम गोर्खा छात्र संघको एक कोष भनि अविहित गरिएको GACDC ले स्वतन्त्र रुपमा काम गरि आएको आरोप लागिरहेको छ भने बिचमा आग्सुसँग चलेको विवादको प्रसंग पनि असमका जनतालाई थाहा छ। यता, आरोप पनि उठिरहेको छ कि गत् २० वर्षदेखि एउटै मान्छे अनि एकलो मान्छे GACDC को अध्यक्ष भई बसिरहेका छन् तर उक्त संस्थाको सम्पूर्ण नियन्त्रण अखिल असम गोर्खा छात्र संघसँग हुनु पर्ने हो। तर यस्तो हुनु आग्सुको विफलता भनौ या GACDC का अध्यक्षको सामर्थ्य समिति हालसम्म पुर्णाङ्ग अथवा विघटन भई पुनर्गठन हुन सकेको छैन।
यता, गत् १९ सितम्बरको दिन गोर्खा स्वायत्त शासनको माग गर्दै आग्सुले गरेको अवस्थान धर्मघटमा GACDC का अध्यक्ष अनुपस्थित रहनु पनि आग्सु र GACDC को बिच चलेको द्वन्द्व स्पष्ट हुन्छ। यद्यपि GACDC अध्यक्ष हर्क बहादुर छेत्रीले भने सामाजिक सञ्जाल मार्फत समर्थन एवम् शुभकामना दिएका थिए।
उल्लेखनीय छ, आग्सुकै एक अंश GACDC ले वर्तमान स्वतन्त्र रुपमा काम गर्दै आएको छ, जस्को प्रमाण स्वरुप GACDC को नयाँ जिल्ला, आञ्चलिक समिति गठन गर्नुको साथै हालमा सांगठनिक सभाहरु सम्बोधन गर्न व्यस्त रहेको देखिन्छ अध्यक्ष हर्क बहादुर छेत्री।
त्यसैबिच हाल सामाजिक सञ्जालमा एक सूचना सर्वत्र भाइरल भईरहेको छ, जहाँ आग्सुको पक्षबाट निर्देश जारी गर्दै उल्लेख गरिएको छ कि आग्सुको र GACDC को सांगठनिक वार्तालाप सम्पन्न नहुन्जेलसम्म आग्सुको कोही पनि कर्मकर्ताहरुले सांगठनिक पदले GACDC को कुनै सांगठनिक कार्यक्रममा सामेल हुन पाउने छैनन्। यद्यपि हालसम्म यस सूचनाको पुष्टि भएको त छैन, कुन नेतृत्व अथवा कुन व्यक्तिले यस सूचना सामाजिक सञ्जालमा प्रचार गरिरहेको हो। यस सन्दर्भमा आधिकारिक बयान पनि आएको छैन तर सर्वत्र सूचना प्रचार भईरहेको छ। तर त्यस सूचनालाई लिएर जनतामाझ विभिन्न चर्चा चलिरहेको छ। कतै GACDC को मार्फत आग्सुको छवि विगार्न उक्त सूचना प्रचार गरिएको भनिदैछ भने कतै GACDC लाई दमन गर्न आग्सुले त्यस सूचना प्रचार गरिएको भनिदैछ अर्थात् विभिन्न मानिसको विभिन्न कुरा। तर हालसम्म पनि भाइरल सूचना सन्दर्भमा आग्सुका सभापति अर्जुन छेत्री अथवा GACDC अध्यक्ष हर्क बहादुर छेत्रीको पक्षबाट कुनै प्रकारको स्पष्टीकरण, आधिकारिक बयान अथवा प्रतिक्रिया आएको छैन।
तर सोचनीय कुरा उक्त सूचना कतिसम्म सत्य हो? उक्त सूचनाको आधारमा को लुकेको छ? तर एउटा कुरा चाहिँ यहाँ प्रमाणित हुन्छ कि आग्सु र GACDC को बिचमा रहेको द्वन्द्वले एक भयंकर परिस्थितिको सृजना अवश्य पनि गर्नेछ। गोर्खाहरुको सपनाको GAC मा आफ्नो सुविधा अनुसार नेतृत्व केन्द्रित युद्धले जनताको त केहि भलो हुदैन तर एउटा कुरा प्रमाण गराउँछ कि दुवै पक्षमा आ-आफ्नो स्वार्थ लुकेको छ, जस्ले जातको भलो चाहीँ कदाचित गर्दैन।
Post a Comment