- मातातीर्थ औंसी
आज संसारका सम्पूर्ण आमाहरुको लागि एउटा विशेष दिन अर्थात् मातातीर्थ औंसी हो। यस विशेष दिनमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ। यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ। आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ। आजको दिनलाई मातृ औँसी अथवा मातृ दिवस पनि भन्ने गरिन्छ। आज छोरा छोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ।
- मातातीर्थ औँसी कसरी मनाइन्छ?
आज बिहान सबेरै उठेर स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ। आज आमाबाट टाढा रहेका सन्तानहरू पनि आमालाई उपहार लिएर भेट्न पुग्छन्। विवाह गरेर पतिका घर गएका चेली बेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन्। विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरू मार्फत पनि सम्झने गर्छन्। मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमा प्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन्।
आमा, जसले हामीलाई संसार देखाइन्। ९ महिना गर्भमा राखेर जन्म दिइन्। काखमा राखेर पालिन्। ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ।
अन्त्यमा, मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण आमाहरूलाई नमन तथा मंगलमय शुभकामना!
साभार: हाम्रो पात्रो।
Post a Comment