Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
शदियामा प्रयात सांसद मनिकुमार सुब्बाज्युको शालिंग निर्माणमा अवरोध: मौन गोर्खा संगठनहरू
Nelive24: असमको तिनसुकिया जिल्लाको शदियामा प्रयात गोर्खा सांसद मनिकुमार सुब्बाज्युको शालिंग निर्माणमा अवरोध उत्पन्न भएको छ। यो कुनै नौलो घटना होइन, यसअघि पनि शदियामा गोर्खाहरुको गतिविधिहरूमा आक्रमण भइसकेका छन्। आग्सु महाविद्यालय एकाईको कार्यक्रममा भएको आक्रमण यसको ज्वलन्त उदाहरण हो। तर पनि, गोर्खा संगठनहरू यस घटनामा मौन देखिएका छन्।
गोर्खा संगठनहरूको मौनता: प्रश्न उठ्नु आवश्यक छ?
असमको जनजीवनमा गोर्खा विधायक भएको क्षेत्र, अखिल असम गोर्खा छात्र संघ (आग्सु) जस्तो शक्तिशाली संगठनका मुलसचिव नुमल छेत्री रहेको स्थान, गोर्खा उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङ्गको गृह जिल्ला नजिकैको क्षेत्र—तर सबै संगठनहरू चुपचाप देखिन्छन्। आखिर यसको कारण के हो?
गत केही समयदेखि आग्सुले संगठनभित्रकै विभाजनको कारण केही युवाहरूलाई अलग राख्ने नीति अख्तियार गरेको देखिन्छ। उदाहरणका लागि, युवा आवाज राहुल छेत्रीलाई आग्सुको कार्यक्रममा निमन्त्रणा नदिनु संगठनभित्रकै असहिष्णुता दर्शाउँछ।
यस घटनाप्रति कुनै संगठनले औपचारिक प्रतिक्रिया नजनाउनु, विभिन्न समुदायलाई समर्थन गर्ने समूहहरू समेत मौन रहनु, गोर्खा समाजलाई खण्डित गर्ने योजनाको हिस्सा हो कि भन्ने प्रश्न उठेको छ। खस समुदायलाई लक्ष्यबद्ध आक्रमण गरिँदा, आफूलाई "गोर्खा" मान्नेहरू समेत मौन रहनु किन? के खस समुदाय मात्र पीडित हो त?
गोर्खा उन्नयन परिषद र जातीय विभाजनको प्रश्न
गोर्खा उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङ्गले विभिन्न समुदायका लागि अनुदान प्रदान गरेका छन्, जसले जातीय पहिचानलाई अझ बलियो बनाएको छ। लिम्बु महासभाले स्वाधीनता सेनानी प्रसाद सिंह सुब्बाको प्रतिमूर्ति पायो, गुरुङ्ग सभाले बाबु डम्बर सिंह गुरुङ्गको प्रतिमूर्ति पायो, कामी उन्नयन समितिले स्वाधीनता सेनानी दलबिर सिंह लोहारको प्रतिमूर्ति पायो।
तर, समग्र गोर्खा समुदायका लागि कुनै समान पहिचानको कार्य नभएको देखिन्छ। के उनीहरू सबै गोर्खा होइनन्? यदि हुन् भने, थर अनुसार मात्रै विभाजन किन? के प्रेम तामाङ्गले जातीय विभाजनलाई प्रोत्साहित गरेको आरोप सह्य हुन्छ? यसबारे गोर्खा समुदायभित्र नै बहस चल्नु आवश्यक छ।
आग्सु, अगोस, अनेसास: समग्र गोर्खा समुदायको प्रतिनिधित्व गरिरहेका छन्?
गोर्खा समुदायका लागि सबैभन्दा ठूलो संगठनका रूपमा रहेका आग्सु, अगोस, अनेसास जस्ता संस्थाहरू पनि जातीय विभाजनको कार्यक्रममा सहभागी भइरहेका छन्। यदि यी संगठनहरू सबै गोर्खाहरूको प्रतिनिधित्व गर्छन् भने, समानरूपमा पहिचान दिने पहल किन भएको छैन?
प्रयात सांसद मनिकुमार सुब्बाज्युको शालिंग निर्माणमा भएको अवरोधप्रति यी संगठनहरूको मौनता अझ प्रश्न उठाउने विषय बनेको छ। जब उनीहरूकै नेतृत्वको कुनै गोर्खा नेतृत्वमाथि अन्याय हुन्छ, तब पनि उनीहरू चुप बस्नु पर्ने? के यो घटनामा उनीहरूले कुनै कदम चाल्नेछन्?
अब के गर्ने? गोर्खा समुदायको भविष्य कता जाँदैछ?
आज शदियामा भएको घटना असमका अन्य स्थानहरूमा पनि दोहोरिन सक्छ। यदि समुदायले जातीय पहिचानकै कारण टुक्रिनुपर्छ भने, गोर्खा पहिचानको के अर्थ रहन्छ? खस, लिम्बु, तामाङ्ग, गुरुङ्ग, मगर आदिले आ-आफ्नै पहिचान खोज्ने हो भने, के हाम्रो ऐतिहासिक पहिचान समाप्त हुने खतरा छैन?
अब समय आइसकेको छ—गोर्खाहरुले एकजुट भएर सोच्नुपर्ने, समग्र पहिचानलाई अघि बढाउनुपर्ने। प्रयात सांसद मनिकुमार सुब्बाज्युको शालिंग निर्माणलाई रोक्ने प्रयासको विरुद्ध आवाज उठाउने कि चुपचाप बस्ने? अब निर्णयको घडी हो।
समयले प्रतीक्षा गर्दैन। अब गोर्खा संगठनले बोल्नैपर्छ कि पर्दैन?
Post a Comment