Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

नेपाली साहित्य जगतका 'आदिकवि' भानुभक्त आचार्य: संक्षिप्त जीवनी

आज भानु जयन्ती। सम्पूर्ण नेपाली भाषीहरुले आज पालन गर्ने नेपाली साहित्य जगतका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती। 

वि.सं.१८७१ तदानुसार अं सन् 1814 को 13 जुलाईको दिन भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो।

नेपाली साहित्यमा भानुभक्त आचार्यको योगदान:

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन्। त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ। उति बेला कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषामा हुने गर्दथे, यस अर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरूको आवश्यकता र महत्त्व धेरै थियो। सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफैँ साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो। भानुभक्तले उति बेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिए तापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ। अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषा मार्फत सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा विस्तार गरेका हुन् भन्न सकिन्छ। आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यिनको रचनामा समाज र व्यबहारीक्ताको सङ्गम पाइन्छ‌।

भानुभक्त आचार्यलाई घाँसीको प्रेरणा:

भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भए तापनि घाँस काटेर पाएको पैसाले समाजका लागि पानी खाने कुवा खन्दछ। भानुभक्तलाई आफू घाँसीभन्दा धनी भए तापनि समाजका लागि केही गरूँ भन्ने भाव नभएको महसुस भएर आफूप्रति ग्लानी पनि लाग्दछ। तर सबैको देन आ-आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरू अझै पनि नेपाली दलिनहरू भित्र सुरक्षित रूपमा राखिएका छन्। रामायण भित्र रहेका बाल काण्ड, अरन्यकाण्ड, सुन्दर काण्ड, युद्ध काण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले "रामायण"का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन्। गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसास्वादन गरेर आत्मसाथ गरिन्थ्यो। रुचि भएका पाठकहरूले रामायणका श्लोकहरू याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसङ्ग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरू पाएपछि बिहे, व्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि सुरु भएको हो। यस अर्थमा आजको दोहोरी र लोकगीतहरूको उद्गम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो।

भानुभक्तको घाँसी कविता जस्ताको तस्तै-

"भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा इनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति"

भानुभक्तको लय बिलकुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजिब्रोमा छ। उनी पश्चातका अन्य धेरै कविहरूले आजसम्म पनि आफ्ना कविताहरू वाचन गर्न यही लयको प्रयोग गरेका छन्।

भानुभक्त र मोतीराम:

एउटा कुरा स्पष्ट छ, हामीले सायद महान् भानुभक्तको जीवनबारे अझै र उनका कृति बारे अझ थप अध्ययन र अन्वेषण गर्न जरुरी छ। मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरू हुन्। युगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतिहरू प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरू मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन्।

भारतमा अध्ययन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदै पनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतिहरू प्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र गोर्खापन उद्घोष गर्दछ। भानु जयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो। मोतीरामले वि.सं. १९४१ मा लामो समय भानुभक्तका बारेमा अन्वेषण र सोध गरी छपाएका जीवन चरित्र पछि भानुभक्तका बहुआयमीक रचनाहरू अझ जनमानसका सामु आएका हुन्।

आज 'भानु जयन्ती'मा आदिकविलाई स्मरण गर्दै छिमेकी मुलुक नेपाल, भारतको पश्चिम बङ्गाल दार्जिलिङ, सिक्किम, असम , मणिपुर लगायतका क्षेत्रहरू अनि नेपाली भाषीहरु भएका विश्वभरिकै देशहरूमा भानु जयन्ती मनाइन्छ। भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली भाषीको जिब्राहरूमा भानुभक्तको लय अझै जीवित छ। 

'आदिकवि' भानुभक्त आचार्यलाई उनको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दछौं। अमर रहुन् आदिकवि भानुभक्त आचार्य र उनका रचनाहरू। 

अन्त्यमा, सबैमा भानु जयन्तीको शुभकामना।

साभार: हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post