Nelive24: असमका प्रख्यात आख्यानकार, नाट्यसम्राट शेरमान थापाको ८३ औं जन्मदिनको अवसरमा असमको शोणितपुर जिल्लाको बडभोगियास्थित रुक्मिणी भवनमा आज तीन पुस्तक लोकार्पित भए। असम नेपाली साहित्य सभा केन्द्रीय समितिका सदस्य ज्योति हुमागाईंद्वारा सञ्चालित एक गरिमामय कार्यक्रममा असमका समकालका चर्चित कवि, कथाकार, समालोचक तथा अनुवादक रुद्र बरालको 'कागजको नाउ' को विमोचन गर्छन् उनकै सहोदर तथा बडझार माध्यमिक विद्यालयका अवकाशप्राप्त प्रधान शिक्षक पुन्यप्रसाद उपाध्यायले। विमोचनको क्रममा उनले 'तेस्रो आँखो'को लोकप्रियताको प्रसङ्ग झिक्तै 'तेस्रो आँखो'भन्दा अझ खारिएको अनुभव लिएर बरालले लेखेका कविताहरू अझ चर्चामा आउने छ्न् भन्ने आशा व्यक्त गर्दछ्न्। यसपछि 'रिमालनी घाट' जस्तो चर्चित कथा सङ्कलन, 'गिनीपिग' काव्य सङ्कलनलगायत पुस्तकहरू प्रकाशित गरेका कवि, कथाकार, निबन्धकार खड्ग बहादुर कौशिकको काव्य सिर्जना 'घामको छाता' विमोचन गर्छन् कवि समालोचक मोहन सुवेदीले। सुवेदीले 'घामको छाता' एक सरल भाषाशैलीमा लेखेको अति सम्प्रेषणीय पुस्तक हो भन्ने उल्लेख गर्छन्। आजको कार्यक्रममा लोकार्पित भएको तेस्रो पुस्तक थियो असमिया भाषामा लेखिएको 'अल एबाउट फेल्टु' शीर्षक। प्रस्तुत पुस्तकका सर्जक हुन् विश्वनाथ चारालीका अर्जुन निरोला। "हजुरबाको पेन्सन" कृतिका सर्जक निरोला असमिया र नेपाली दुवै भाषाका कलमकार हुन् र उनी समकालीन असमेली नेपाली साहित्यका सर्वाधिक समादृत व्यङ्ग्यकार मानिन्छ्न्। निरोलाको हास्य-व्यङ्ग्य 'अल एबाउट फेल्टु' विमोचन गर्दै बडसोला उच्च माध्यमिक विद्यालयका पूर्व अध्यक्ष शुकराम वर्मणले यो एक उत्कृष्ट व्यङ्ग्यकृति हो भनेर ठोकुवा गर्छन्।
कार्यक्रम साहित्यकार शेरमान थापाको प्रतिकृतिमा अनेसासका सभापति दुर्गा खतिवडाले माल्यार्पण गरेपछि सुभारम्भ भएको थियो र अनेसास शोणितपुर जिल्ला समितिका सभापति डिल्लीराम खनालले शेरमान थापाको व्यक्तित्व र कृतित्वमाथि विस्तृत आलोकपस्त गरेका थिए। यस कार्यक्रममा असमका नयाँ पिँढीकी चर्चित कवि नैना अधिकारी, असम नेपाली साहित्य सभाका सचिव दीपक गजुरेल, असम नेपाली साहित्य सभाका केन्द्रीय सदस्य हेमन्त भट्टराई, प्राध्यापक कृष्णप्रसाद भट्टराई, अनेसास मरिगाउँ जिल्ला समितिकी सभापति अनामिका उपाध्यायले कविता वाचन गरेका थिए भने साहित्य सभाका केन्द्रीय सभापति दुर्गा खतिवडा र केन्द्रीय सचिव नवप्रभा अधिकारीले यस कार्यक्रम र विमोचित पुस्तकहरूको बारेमा वक्तव्य राखेका थिए। अनेसास सभापति दुर्गा खतिवडाके तिनैजना सर्जकको साहित्यिक योगदान बारे विस्तृत टिप्पणी गरे। कार्यक्रममा हाम्रो प्रजाशक्ति नेपाली दैनिकका सम्पादक अञ्जन उपाध्याय, साहित्य अकादमी युवा पुरस्कारप्रापक अञ्जन बाँसकोटा, असम नेपाली साहित्य सभाका सचिव ढाकाराम काफ्ले, चारदुवार माध्यमिक विध्यालयका पूर्व अध्यक्ष दीननाथ निरोला, व्यङ्ग्यकार महिम आचार्य, बडसोला माध्यमिक विद्यालयका पूर्व प्रधान शिक्षक रामबहादुर क्षेत्री, बापुजी माध्यमिक विद्यालयका पूर्व प्रधान शिक्षक अमर क्षेत्री आग्सु केन्द्रीय समितिका सदस्य पुष्प पौडेल, पूर्वायण प्रकाशनका मालिक डा: अमृतकुमार उपाध्यायलगायत साठीजना साहित्यनुरागीको उपस्थिति रहेको थियो।
Post a Comment