गोरु तिहार/हलि तिहार | गोवर्धन पूजा
गोरु/हलि तिहार-
आज 'यमपञ्चक'को चौथो दिन अर्थात् गोरु/हलि तिहार। काग, कुकुर, गाई हुँदै आजको दिन प्राचीन कालदेखि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा अर्चना गर्ने गरिन्छ। आजको दिन गोरुलाई पिठो, नुन, चोक्कर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात् 'बावर' खान दिइन्छ।
आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो। श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन्। आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो। हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ। आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पनि पूजा गरिन्छ।
गोवर्धन पूजा-
यमपञ्चकको चौथो दिन गोवर्धन पूजा पनि गर्ने चलन छ। श्रीमद्भागवत गीता अनुसार, भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोवर्धन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएका थिए। भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ। आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोवर्धन पर्वतको पूजाआजा गरिन्छ। यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतीकका रुपमा पूज्ने चलन रहिअाएको छ।
साभार- हाम्रो पात्रो।
Post a Comment