Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

दार्जिलिङ पहाड तराईमा मनाए शहीद दिवस; गोर्खाल्याण्ड आन्दोलनका शहीदहरुलाई गरे स्मरण

दार्जिलिङ,२७ जुलाई:  दार्जिलिङ पहाड तराईको विभिन्न ठाउँहरुमा गोर्खाहरुले मनाए शहीद दिवस। प्रत्येक वर्षको २७ जुलाईको दिनलाई शहिद दिवसको रूपमा मनाउदै आएका छन् दार्जिलिङ पहाड तराईका गोर्खाहरुले। आफ्नो जाति, माटो, चिन्हारी र अधिकारको निम्ति गोर्खाल्याण्ड आन्दोलनमा ज्यान गुमाउने ती वीर शहीदहरुको त्याग र बलिदानलाई स्मरण गर्दै प्रत्येक वर्षझैं आज पनि विभिन्न संघ-संस्था र राजनीतिक दलहरुले मनाए शहीद दिवस।

सन् १९८६ को २७ जुलाईको कालो दिन, जतिबेला गोर्खाल्याण्ड आन्दोलन चरम सीमामा पुगिसकेको थियो। आफ्नो जाति, माटो, अधिकार र चिन्हारीको निम्ति एकमुष्ट भई आन्दोलनमा उत्रिएका गोर्खाहरुलाई भारत-नेपाल मैत्री सन्धि, १९५० को 7th Article -ले बिझाएको महसुस हुन्छ। त्यसैले सन् १९८६ को २७ जुलाई आइतबारको दिन कालिम्पोङ्ग मेला ग्राउण्डमा भारत-नेपाल मैत्री सन्धि १९५० को 7th Article को प्रतिलिपि जलाउने अनि विरोध जनाउने निधो हुन्छ। त्यस अनुसार सन् १९८६ को २७ जुलाई आइतबारको दिन विस्तारै विस्तारै कालिम्पोङ्ग टाउनमा मानिसहरूको भीड लाग्न थाल्यो। वरिपरिका सबै गोर्खाल्याण्डपन्थीहरु पनि भेला हुन पुग्छन। तर सीआरपीएफ जवानहरुले ठाउँ ठाउँमा बेरिकेट लगाएर त्यस भिडलाई कालिम्पोङ्ग टाउन पस्नदेखि रोक लगाइरहेका थिए। प्रशासनले भीडलाई कालिम्पोङ्ग मेला ग्राउण्डमा पस्न रोक लगाउँछ। उता कालिम्पोङ्ग मेन रोडमा प्रदर्शनकारीहरू अघि बढी रहदाँ अचानक कालिम्पोङ्ग थाना परिसरको साथै पोष्ट अफिस बिल्डिङबाट भीडमाथि ढङगाहरु बर्साउन शुरु हुन्छ। तैथाथ सीआरपीएफ जवानहरुले पनि एकाएक फाइरिङ गर्न शुरु गर्छन्। त्यो उज्यालो आइतबार कालो दिनमा परिणत हुन्छ। कालिम्पोङ्गको मेनरोड रणभूमिमा परिणत हुन्छ, चारैतिर लासै लासको थाक लाग्छ अनि बग्दछ गोर्खाहरुको रगतको खोला। सन् १९८६ को यसै कालो दिनमा कालिम्पोङ्गमा ज्यान गुमाउने र गोर्खाल्याण्ड आन्दोलनमा प्राण बलिदान दिने ती वीर सपुतहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्न प्रत्येक वर्ष मनाइन्छ शहीद दिवस।

प्रत्येक वर्षझैं शहीद दिवसको अवसरमा आज दार्जिलिङ पहाड तराईका विभिन्न ठाउँहरुमा गोर्खा जनताको साथै विभिन्न संघ-संस्था र पार्टीहरुले मनाएको देखियो शहीद दिवस।

गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाका अध्यक्ष बिमल गुरुङले कालेबुङमा गोर्खाल्याण्ड आन्दोलनका शहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे। अर्कातिर गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका कार्यवाहक अध्यक्ष अनित थापा पनि दार्जिलिङको भानु भवन परिसरमा शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरे।

Post a Comment

Previous Post Next Post