भारत देश विकासको बाटोमा निरन्तर अघि बढ़िरहेको छ। यस कुरोले हामी भारतवासीलाई संतुष्टि प्रदान गर्दछ। वैज्ञानिक प्रगति होस् वा भौतिक प्रगति, भारतदेशले प्रत्येक क्षेत्रमा आफ्नो वर्चस्र्वको पताका गाड़ेर उदाहरण प्रस्तुत गरेको छ। आर्थिक विकासको क्षेत्रमा पनि भारतले स्वर्णिम उपलब्धि प्राप्त गरिरहेको छ। देशको यही द्रूतगति विकासलाई आधार मान्ने हो भने भारतले पुनः ‘विश्वगुरू’ को उपाधिलाई प्राप्त गर्नसक्ने कुरोमाथि विश्वास प्रकट गर्न सकिन्छ। हामी भारतवासीको लागि यो एउटा गर्वको विषय सिद्ध हुनेछ किनभने युगौँदेखि दासताको तापमुनि हामी पिल्सिइँदै आएका छौँ। कयौँ शहीदहरूको आत्मावलिदानपछि हामीले आजको स्वतन्त्रता पाएका हौँ; तर साथ साथै ‘उज्यालोको अर्को पाटो अँध्यारो’ भनेझैँ यो कथित दुर्गति विकासको रफ्तारबाट छेलिएर आज हामीले एउटा कुरो विचार गर्नु पर्ने भएको छ। त्यो के भने - यस भौतिक प्रगतिलाई आधार मानेर हामीले आफ्नो मौलिकतालाई हराइरहेका त छैनौँ? हाम्रो सांस्कृतिक गुणवत्ताको मापन-आधार यसप्रकारको देखावटी ‘भौतिक विकास’ नै हो?
वास्तवमा हामीले गरिमापूर्ण सोपानको क्रमिक विकासलाई नै हाम्रो संस्कृतिको माहन उपलब्धी मान्दै आएका छौँ ; तर आज- जीवनको मूलाधार निर्माण गर्ने हाम्रा पूर्वीय वेद, उपनिषद्हरूबाट मुण्टो बटारेर हामी माकुरीजाले इच्छाको फेरमा डल्लिएका र छट्पटिरहेका छौँ ।
ज्ञानको क्षेत्रमा विश्वका प्रत्येक देशलाई पछि पारेका हौँ, तर फेरि के भयो यस्तो र भौतिकता हाम्रो ज्ञानभन्दा ठूलो भयो? अहिले, पश्चिमी सभ्यताको अनुकरण नै हाम्रो जीवनाधार बनेको छ। उसको सकारात्मक पक्षबाट ज्ञान लिनुको साटो हामीले उसैलाई नेता मानिलिएका छौँ । अङ्ग्रेज शासकहरूले आफनो शासनपछि भारतमा कलङ्कको रूपमा छाड़िगएको शिक्षा व्यवस्थाको दुष्परिणाम आज हाम्रो समाजमा प्रत्यक्षतः परिलक्षित छ। यसैभित्र गुजुल्टिएर हामीले भारतीयतालाई हरायौँ र आफ्नो महिमामय र गरिमामय संस्कार-सभ्यतामाथि गर्व गर्न भुल्यौँ। महको दहमा पखेटा चोबलिएको मौरीजस्तो भएर आज हामी सङ्घर्षरत छौँ । आफ्नै अनुहार हराएर आज हामी अरूकै परिचय सापटी मागेर सङ्कटापन्न भविष्यतिर अग्रसर हुँदैछौँ । कुइरोको काग भएको यस स्थितिबाट कोही पनि मुक्त हुनसकेका नसक्नु दुर्भाग्य हो । विस्मृतिको तुवाँलोभित्र छोपिएको भारतीय सांस्कृतिक मूल्यलाई प्रकट गर्नु आजको आवश्यकता थियो र छ। नाविकलाई पतवारको आवश्यकता परेझैँ यस कामको निम्ति एउटा क्रान्तिकारी कलमको आवश्यकता थियो। यस्तो कलम जसले स्वतन्त्रताको सपना देख्छ; तर छेपाराको कथामा जस्तो सपना देख्नु मात्र होइन, सपना साकार पार्ने क्षमता पनि राखेको हुन्छ। आवष्यतकता थियो -सत्यवादी लेखनको; जसले सफलताको परिकल्पनात्मक र उड़न्ते अवधारणाको मुखुण्डोलाई च्यातेर वास्तविक जीतको अनुहार देखाउन सक्दछ,त्यसतिर सङ्केत प्रदान गर्न सक्दछ। र सलील ज्ञवालीद्वारा लिखित ‘ पूर्वीय सभ्यता - विश्वविख्यात महापुरुषहरूको दृष्टिमा’ अर्थात् “Great Minds on India” नामक पुस्तकले यही क्रान्तिकारी सोचको जग निर्माण गरेको छ। यस पुस्तकमा भारतको व्यापकता र विराटताबाट प्रेरित उच्चकोटीका वैज्ञानिक, दार्शनिक औ सन्तहरूका मुखारावृन्दबाट निस्तृत वाणीहरूको सङ्कलन गरिएको छ। जसको उपयोगिताबारे केही भन्नु ‘फलामे चिउरा चपाउनु’ बराबर बोध गरिरहेछु। भारत ज्ञानको त्यो ढिकुटी हो; जसभित्र रहेका ज्ञानका खजाना विशयक अद्यावद्यि सम्पुर्ण थाह पाउनसकिएको छैन। यद्यपि, पूर्वीय ऋषिहरूले यसमा अनुसन्धान गरे। अनि भारतीय पुरातन ग्रन्थहरूमा वर्णन गरे। भारतमा प्रकृतिबाट ज्ञानको धारा बहेर ज्ञानको दिषातिर हामीलाई अग्रसरित गराउँछ। ज्ञानको स्रोत र सम्बन्ध प्रकृतिसँग रहेको हुन्छ। यसैले प्रकृतिको सन्निकटताबाट ज्ञानको प्राप्तिमा सहजता प्राप्त गर्नसकिन्छ। यसै कारणले ऋषिमुनिहरूले प्रकृतिलाई एउटा प्रयोगशाला माने, र विभिन्नप्रकारका प्रयोगहरू गरे । जसद्वारा उनीहरूले प्रेम र सत्यको मार्गमा हिँड़ेर निर्वाण प्राप्त गर्ने मन्त्रको सूत्रपात गरे।
भारत कुनै देश वा क्षेत्रको नाम होइन। भारत, मान्छेको प्रसन्नचित्तको त्यो अवस्थाको नाम हो जति बेला आत्मप्रकाशले त्यो भरिएको हुन्छ र सधैँभरि त्यो प्रसन्न नै रहेको हुन्छ। आध्यत्मिकताको संसारमा बाहेक विज्ञानको क्षेत्रमा पनि भारतले महत्त्वपूर्ण अनुसन्धानहरू गरेको छ। भारतले गणितमा ‘शुन्य’ दिएको छ, आयुर्वेदको ज्ञान दिएको छ। भारत ज्ञानको गङ्गोत्रीको रूपमा परिचित छ, र मानवीय विकासको सोपानक्रममा भारतले पुर्याएको योगदान सामान्य छैन।
आजको युगमा भारतवासीहरूलाई भारतको विशयमा बताउनु साँच्चै नै चुनौतीपूर्ण कार्य सिद्ध हुन जान्छ। तर सलिलज्यूले यस चुनौतीलाई स्वीकार गरेका छन्। कड़ा परिश्रम लगन र षोधद्वारा उनले हामीलाई भारतीय हुनुको गर्वलाई जगाउन सक्ने पुस्तक दिएका छन्। यस्तो पुस्तक जसले हामीलाई ‘भारत के हो’ भन्नेबारेको वास्तविक ज्ञान प्रदान गर्दछ। यस पुस्तकले विष्वव्यापीरूपमा ख्यातिप्राप्त गरिसकेको छ। जसको नेपाली भाषामा विद्वान लेखक डा.गोविन्दराज भट्टराईले अनुवाद गरेका छन् । साथसाथै मराठी भाषामा - महाराश्ट्र सरकारका अतिक्ति मुख्य सचिव (Additional Chief Secretary) श्रीमती लिना महेण्डलद्वारा पुस्तकको अनुवाद गरिएको छ । तामिल, तेलुगु, गुजराती, कन्नड़, मलयालम, बंगला, मणिपुरी, जर्मनी आदि भाषामा यस पुस्तकको अनुवाद भइसकेको र हिन्दी भाषामा भूतपूर्व- भाइस एयार मार्सल विश्वमोहन तिवारीले अनुवाद गरेका छन् भने बङ्लाभाषामा पनि सो पुस्तकको अनुवाद डा. आर. एन. दासद्वारा भएको हो ।‘ग्रेट माइण्डस् अन ईण्डिया’ ;अकादमी पब्लिकेशन, शिलाङ, वर्ष २००९ -मा प्रकाशित अनि मेघालयका गर्वनर रञ्जीत मुसाहारेद्वारा लोकार्पित यस पुस्तकको महत्त्व कति छ त्यो शब्दमा पिरोइएने कुरो पनि भएन । त्यति मात्रै होइन, यसै पुस्तकको हिन्दी संस्करण छत्तीसगढ़का भूतपूर्व मुख्यमन्त्री डा. रमण सिंहद्वारा विमोचित भएको हो भने मलयालम संस्करण महाराष्ट्रका गवर्नर के शंकरनारायण द्वारा भएको हो। तेलेगु भाषामा छापिएपछि यो पुस्तक आन्ध्रप्रदेशको दशवटा विभिन्न ठाउँहरूमा लोकार्पण गरिएको थियो। प्रस्तुत पुस्तकलाई कन्नड़ भाषामा अनुवाद गर्ने - भाभा एटोमिक रिसर्च सेन्टरका न्युक्लियर वैज्ञानिक डा. मुरुलिया राघवया हुन् । भारतीय यावत् नागरिकहरूको बिचमा एकजना नेपालीमूलका नागरिक श्री सलील ज्ञवालीले यो महत काम गर्न सकेका छन् र यस दिशातिर विश्वव्यापी रूपमा छरिएर बसेका ज्ञानका पारखीहरूको ध्यानाकर्षण भएको छ - जुन कुरो गोर्खा जातिको निम्ति पनि एउटा गर्वको विषय सिद्ध हुन पुगेको छ।
विश्वमा नाम कमाएको यस पुस्तकमा के छ भन्ने स्वाभाविक र सम्भावित प्रश्नको उत्तर दिइहाल्न यहाँ उचित ठहर्दछ। यस अनुपम पुस्तकमा सलिलज्युले पाश्चात्य महान् विचारक, वैज्ञानिक तथा भारतीय विचारकहरूलाई उद्घृत गर्दै यस कुरोलाई सिद्ध गरेका छन् कि जुन सनातन संस्कृतिलाई हामीले श्रद्धाका साथ अवलम्बन गर्नुको सट्टा संकोच र लज्जा मानेर टाड़ा भागिरहेका छौँ । त्यही ज्ञान पाश्चात्य वैज्ञानिक, लेखक, दार्शनिक, कवि तथा इतिहासकारहरूका निम्ति अमूल्य र अमृतसमान ठहरिएको छ। सलील ज्ञवालीका अद्भुत यस कृतिभित्र आइन्सटाइन, नोबलद्वारा सम्मानित अमेरिकी कवि तथा दार्शनिक टी.एस. इलियट, दार्शनिक एलन वाट्स, अमेरिकी लेखक मार्क ट्वेन, प्रसिद्ध विचारक वाल्डो एमर्सन, फ्रेन्च दार्शनिक भोल्टायर, नोबलद्वारा सम्मानित ब्रायन डेविड जोसेफसन्, अमेरिकी दार्शनिक हेनरी डेविड थोरो, एनी बेसन्ट, महान् मनोवैज्ञानिक कार्ल युङसमेत अब्दुल कलाम प्रभृति भारतीय विचारकहरूको सनातन संस्कृति र योगदानमाथि व्यक्त गरिएका विचारहरू यस पुस्तकमा सङ्कलन् गरिएका छन्।
पुस्तकभित्रै छ- आइन्सटाइनले भारतीय ज्ञानको सन्दर्भमा भनेका कुरा। उनले भनेका छन् - ‘भारतीयहरूको ऋणी छौँ किनभने उनीहरूले हामीलाई गणना गर्न सिकाए। यसको अभावमा वैज्ञानिकहरूको महत्त्वपूर्ण खोजहरू सम्भव हुनेथिएनन् ।’ त्यस्तै, क्वाण्टम फिजिक्ससँग सम्बन्धित जर्मन वैज्ञानिक वर्नर हाईजेनबर्गले भनेका छन- “ क्वान्टम फिजिक्समा मलाई उन्मादी वा असङ्गत लागेका केही कुरा पूर्वीय दर्शनको विषयमा छलफल तथा वार्ता गरिसकेपश्चात अर्थपूर्ण लाग्नथाले “। यी सबै पंक्तिहरूलाई पढ़ेपछि हामी कहाँबाट कहाँ जाँदैछौँ-भन्ने विचारको सुइरोले हाम्रो मुटुमा चस्चस्ति घोच्नथाल्छ, त्यो हुनु स्वाभाविक हो।
यस पुस्तकको अन्य महत्त्वपूर्ण अंशहरूमा रहेका छन्- एडभान्स्ड भौतिकसँग सम्बन्धित बोधव्यक्तिको रूपमा रहेकी ग्रीसकी रानी फ्रेडरिकाको भनाइ छ । उनले भनेकी छन्- ‘एडभान्स भौतिकीसँग सम्बन्धित हुनका साथै मेरो रूझान आध्यात्मिक खोजतर्फ पनि बढ़ेको हो। यसैको परिणाम आफ्नो जीवनमा आदि शङ्कराचार्यको अद्वैत्तवाद तथा परमाद्वैत्त्वादि दर्शनलाई जीवन अनि विज्ञानको अभिव्यक्तिको रूपमा स्वीकारेँ।’ प्रसिद्ध जर्मन दार्शनिक आर्थर सोपेनहावर भन्छन् --‘सम्पूर्ण भूमण्डलमा मूल उपनिशद जतिको फलोत्पादक तथा भावोद्दिपक ग्रन्थ अन्य कतै पनि छैन। यिनले मलाई जीवनमा शान्ति प्रदान गरेका छन् अनि जीवनको अन्तीम क्षणसम्म पनि शान्ति प्रदान गरिरहुन् भन्ने म चाहन्छु।’
प्रसिद्ध जर्मन फेड्रिक्क श्लेगलले (Friedrich Schlegel) संस्कृत अनि भारतीय ज्ञानबारे श्रद्धा प्रकट गर्दै भनेका छन्- ‘संस्कृत भाषामा निहित भाषागत परिपक्वता र दार्शनिक प्रबुद्धताको कारणले गर्दा यो ग्रीक भाषाभन्दा धेरै उच्चकोटीको छ। यति मात्र होइन भारत सम्पूर्ण ज्ञानको उद्गमस्थल हो । नैतिक, राजनैतिक एवम् दार्शनिक दृष्टिकोणबाट भारत सबैभन्दा उच्चस्थानमा छ त्यसको तुलनामा ग्रीक सभ्यता धेरै धमिलो प्रतीत हुन्छ। ’
यसपछिका पानाहरूमा लेखक स्वयम्ले यी नै सबै महान् पुरुषहरूको महावाणीलाई आफ्नो पद्धतिले व्याख्या गरेका छन् । जसअन्तर्गत आजको नैतिक पतनप्रति लेखकद्वारा गहिरो क्षोभ प्रकट गरिएको छ। अहिले यो पुस्तक जर्मन लगायत बारह भाषाहरुमा अनुवाद भइसकेको छ। नासाका विशिष्ट वैज्ञानिक डा. कमलेश लूलाले यस ग्रन्थको भूमिका लेखेर यसको महिमा अझ बढाएका छन्।
अन्त्यमा भन्नुपर्दा, यस पुस्तकले मानसिक क्रान्तिको तूफान ल्याउने कुरोमा दुई मत कदापि छैन। भारतीय सनातन संस्कृतिको पुनर्स्र्थापनाको निम्ति सलिलज्यूको यस पुस्तकले अद्वितीय भूमिका निर्वाह गरेको छ। जम्मै भारतवासीले र विश्व नागरिकले अब शिलाङका लेखक सलील ज्ञवालीको यस पुस्तक पढ़ेपछि मात्र वास्तविक ‘भारत के हो’ भन्नेबारे स्पष्टतः थाहा पाउन सकिनेछ ।
Post a Comment