स्वतन्त्रता सेनानी, राजनैतिक नेता, कवि-साहित्यिक तथा एकजना निष्ठावान शिक्षक विष्णुलाल उपाध्यायको आज १०५ औं पुण्य जन्म जयन्ती।
स्वतन्त्रता संग्रामी विष्णुलाल उपाध्यायको जन्म १६ जुलाई १९१७ सन् अर्थात् आजकै दिन अविभक्त शोणितपुर जिल्लाको बिहाली थाना अन्तर्गत माजगाउँमा भएको थियो। उनको पिताको नाम वृहष्पती उपाध्याय थियो भने माताको नाम लच्छिमी देवी थियो।
उनले आफ्नो शैक्षिक जीवनको आरम्भ सन् १९२५ मा कमवाईन स्कूलबाट गरेका थिए भने सन् १९३७ मा तेजपुर सरकारी हाईस्कूलबाट प्रथम विभागमा हाईस्कूल परीक्षा उतिर्ण भएका थिए। त्यस पश्चात् उनले अन्नपूर्णा देवीसित विवाह गरेका थिए भने विवाह पश्चात् पुनः शिक्षा ग्रहण गर्छन् मेधावी छात्र विष्णुलाल उपाध्यायले। सन् १९४०-मा उच्चतर माध्यमिक परीक्षा दोस्रो विभागमा उतिर्ण भएका विष्णुलाल उपाध्यायले गुवाहाटीको कटन कलेजमा नाम भर्ती पनि गरेका थिए। तर त्यही समयमा महात्मा गान्धीको नेतृत्वमा भइरहेको स्वाधीनता आन्दोलन जोडदार गतिमा चलिरहेको थियो। सानैदेखि जननी जन्मभूमिको निम्ति केही गर्ने मनमा ईच्छा बोकेका विष्णुलाल उपाध्याय शोणितपुरका स्वतन्त्रता संग्रामी छविलाल उपाध्यायको सम्पर्कमा आउँछन् अनि उनी पनि स्वतन्त्रता आन्दोलनमा होमिन पुग्छन्। अन्त्यमा सन् १९४२-मा उनी गिरफ्तार हुनु पर्ने हुन्छ र ६ महिना जेल पनि खट्नु पर्ने हुन्छ। विष्णुलाल उपाध्याय जेलबाट मुक्त भएर सन् १९४४-मा बी.ए पास गर्छन्। उनी अविभक्त दरङ्ग जिल्लाबाट बी.ए पास गर्ने पहिलो व्यक्ति पनि हुन्।
विष्णुलाल उपाध्याय एकजना सफल राजनैतिक नेता पनि थिए। उनको सहज-सरल चरित्रले गर्दा उनलाई सबैले मन पराउँथे। उनी सन् १९५० देखि १९५३ सम्म तेजपुर लोकल बोर्डका प्रतिनिधि बने अनि १९७८ देखि १९८३ सम्म तीन पटकको लागि गहपुरबाट र एक चोटी बिहालीबाट कांग्रेसका उम्मेद्वार भएर एम एल ए पनि चुनिएका थिए।
विष्णुलाल उपाध्याय विभिन्न संस्था-संगठनसँग पनि संलग्न थिए। सन् १९६८ मा उनी असम गोर्खा सम्मेलनका उप-सभापति बनेका थिए भने सन् १९६९ देखि १९८२ सम्म सभापतिको आसन पनि श्रृंगारेका थिए। उनी सन् १९७४ मा खादी ग्रामोन्नयन बोर्डको सदस्य बन्न सफल भएका थिए अनि राष्ट्रिय एकता परिषद्का मनोनीत सदस्य पनि बनेका थिए। उनी असम साहित्य सभाका आजीवन सदस्य पनि थिए।
विष्णुलाल उपाध्यायले सन् १९८३-मा राजनीतिक मैदान छोडेर भाषा-साहित्यको सेवामा लागिपर्छन्। साहित्य क्षेत्रमा उनले धेरैवटा वहुमुल्य कृति रचना गरेर नेपाली र असनीया साहित्यको ढिकुटी समृद्ध पारेका थिए। उनले निम्नलिखित पुस्तकहरु लेखेका थिए-
असमीया:
० स्वाधीनता जुगर नायक छबिलाल उपाध्याय (१९९०)।
० स्वाधीनता संग्रामी श्रमिक नेता दलवीर सिंह लोहार (१९९३)।
० दुगराकी महान विभुति आदिकवि भानुभक्त आचार्य आरु महापुरुष शंकरदेव (१९८४)।
नेपाली:
० छबिलाल उपाध्याय
० आजीवन संग्रामी भक्त बहादुर प्रधान (१९९०)।
० महापुरुष शंकरदेव (१९८२)।
० आसामे नेपालीहरु (१९८४)।
० मेरा डायरीका केही पृष्ठाहरु (१९८४)।
० उसर्ग (१९९६)।
० ओझेलमा परेका नारीरत्नहरु (१९९७)।
आफ्ना महान कर्महरुले बिष्णुलाल उपाध्यायले विभिन्न क्षेत्रमा धेरै सम्मान बटुल्न सक्षम भएका थिए। उनले पाएका सम्मानहरु-
० स्वाधीनता संग्राममा योगदानको निम्ति ताम्रपत्रले सम्मानित।
० साहित्य पेनसन असम सरकारद्वारा (१९९२)
० फुलचन्द खण्डेलवल समन्वय पुरस्कार।
० सिक्किम सम्मान सिक्किम सरकारद्वारा।
उनलाई असमका धेरै संस्था-संगठनहरुले पनि अभिनन्दन गरेका थिए। उनलाई असम साहित्य सभा र सन् १९८९ मा मध्य गुवाहाटी बिहु सम्मेलनले पनि अभिनन्दन जनाएको थियो।
एकजना निर्भीक र सरल आदर्शवान व्यक्तित्वका धनी महान सतन्त्रता संग्रामी, राजनैतिक नेता तथा साहित्यिक विष्णुलाल उपाध्याय सन् २००९ को २९ जुलाईको दिन आफ्ना महान कर्मले गौरवशाली इतिहास रच्दै पञ्चत्वत्तमा विलिन हुन्छन्।
स्वतन्त्रता सेनानी विष्णुलाई उपाध्यायको १०५ औं जन्म जयन्तीको अवसरमा कोटी कोटी नमन।
तथ्य: सामाजिक सञ्जाल।
Post a Comment