गुवाहाटी, २८ मई, २०२१: गोर्खा विद्यार्थीहरुको लागि एउटा खुशीको खबर। असमको गुवाहाटीस्थित कृष्णकान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालय (KKHSOU) मा नेपाली स्नातकोत्तर पाठ्यक्रम शुरू हुने भएको छ। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माको निर्देश बमोजिम कृष्णकान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालयका उपकुलपति प्रोफेसर कन्दर्प दासले दूर शिक्षाका रूपमा नेपाली एम.ए. खोलिने छ भनी सिलेबस समिति गठन गरेका छन्। जानकारी अनुसार सिलबस समितिको अध्यक्षको रूपमा पीजीबीएसएइचका निर्देशक प्रोफेसर प्राणजीत बरा, सदस्यद्वय डा. प्रसनजीत दास र डा. मृनालज्योति गोस्वामी, सबजेट एक्सपर्टको रूपमा भाषाविद् तथा प्राध्यापक डा. खगेन शर्मा, ढाकाराम काफ्ले, डा. इन्दुप्रभा देवी र नव सापकोटा रहेका छन् भने समितिमा संयोजकको रुपमा डा. द्विव्यज्योति महन्त रहेका छन्। यता विश्वविद्यालय अनुदान आयोग (UGC) बाट अनुमोदन पाउँन सके यही वर्षको जुलाईदेखि पाठ्यक्रम प्रारम्भ हुने सम्भावना छ।
स्मरण रहोस्, बिहीबार साँझ ७ बजे अखिल असम गोर्खा छात्र संघका सभापति अर्जुन छेत्रीको नेतृत्वमा १२ जनाको टोलीले असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मालाई भेट गरेर गोर्खाहरुको विभिन्न समस्याहरू समाधानको माग गर्दै ज्ञापन चढाएका थिए। मुख्यमन्त्रीसँग भेटवार्ताको २४ घन्टा नबित्दै काम शुरु भएको छ।
उल्लेखनीय छ असम नेपाली साहित्य सभाले पनि २०१७ सनदेखि नै कृष्णकान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालयमा नेपाली स्नातकोत्तर पाठ्यक्रम शुरु गर्नु पर्ने माग गर्दै आएको थियो।
Post a Comment